भरतपुर । इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका एउटै परिवारका तीन जना चेपाङ बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन्। उनीहरू एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूना चेपाङको जेठ १ गते घरमै मृत्यु भएको थियो। सञ्जय चेपाङको गत शनिबार राति उपचारका क्रममा निधन भएको थियो भने मनिता चेपाङको आज बिहान भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच सदस्यीय परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। च्याउ सेवन गरेपछि परिवारका सदस्य बिरामी परेका थिए। गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।
विद्यालयका अनुसार मृतक नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत थिए। बालबालिकाका बुबाआमा भने सकुशल रहेका छन्।दुई बालबालिकाको दाहसंस्कार भइसकेको छ भने आज मृत्यु भएकी मनिताको शव परिवारलाई बुझाउने तयारी भइरहेको प्रधानाध्यापक मगरले जानकारी दिए।
ग्रामीण क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आए पनि जङ्गली च्याउ सेवनबाट हुने विषाक्तताका घटना रोकिन नसकेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।








