चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा स्वास्थ्य र दूरसञ्चार सेवाको विशेष तयारी गरिएको छ। अत्यधिक गर्मी र हजारौं सहभागीको उपस्थितिलाई ध्यानमा राख्दै चिकित्सकसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ।

महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा. मनोहर प्रधानका अनुसार उद्घाटन समारोहका लागि तीन वटा सुविधासम्पन्न एम्बुलेन्स, चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ। उद्घाटन स्थलमा तीन वटा स्वास्थ्य डेस्क रहनेछन्, जसमा एउटा अतिथि दीर्घा र दुई वटा दर्शकदीर्घातर्फ राखिनेछ।

आकस्मिक उपचारका लागि आवश्यक औषधि र उपकरणसहितको सेवा स्थलमै उपलब्ध हुनेछ। थप उपचार आवश्यक परे जिल्लाका प्रमुख अस्पतालहरूसँग समन्वय गरी बिरामीलाई पठाइने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

चितवनमा हाल अत्यधिक गर्मी रहेकाले हिमाली तथा पहाडी जिल्लाबाट आउने प्रतिनिधिहरूमा ‘हिटस्ट्रोक’को जोखिम हुन सक्ने भन्दै स्वास्थ्य सतर्कता बढाइएको छ। खानपान र स्वास्थ्य सुरक्षाबारे पनि आवश्यक समन्वय गरिएको जनाइएको छ।

ADVERTISEMENT

महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा र बन्द सत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आयोजना हुनेछ। कार्यक्रममा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

यता, सहभागीको चापलाई ध्यानमा राख्दै नेपाल टेलिकमले पनि नेटवर्क क्षमता विस्तार गरेको छ। भरतपुरस्थित मुख्य टावर तथा आसपासका टावरमा अतिरिक्त उपकरण र विशेष एन्टेना जडान गरी फोन तथा डेटा सेवामा समस्या नआउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

नेपाल टेलिकमका निमित्त प्रमुख चन्दनकुमार झाका अनुसार ठूलो जनसहभागिताका कारण ‘कल ड्रप’ तथा इन्टरनेट सेवा प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पूर्वतयारी गरिएको हो। अतिरिक्त आरआरयू र सेक्टर एन्टेना जडान गरिएकाले महाधिवेशनका क्रममा नेटवर्क सेवा सहज रहने अपेक्षा गरिएको छ।