काठमाडौं । नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध देशव्यापी राजनीतिक प्रतिरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
मंगलबार गुण्डुमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पौडेललाई पक्राउ गर्ने सरकारी कदमलाई निरंकुश, प्रतिशोधपूर्ण र विभेदकारी भन्दै त्यसविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। अभियान सफल बनाउन पार्टीका सम्पूर्ण तह र पंक्तिलाई सक्रिय हुन आह्वान गरिएको छ।
सुर्खेतमा पक्राउ परेका पौडेललाई मंगलबार काठमाडौं ल्याइएको थियो। विशेष अदालतले थप अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सचिवालय बैठकले पौडेलको गिरफ्तारीलाई पूर्वाग्रहप्रेरित, प्रतिशोधपूर्ण र गैरकानुनी कदमको संज्ञा दिँदै राजनीतिक र कानुनी दुवै माध्यमबाट सशक्त प्रतिवाद गर्ने जनाएको छ।
एमालेले सम्पत्ति शुद्धीकरणको बहानामा राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले गिरफ्तारी गरिएको आरोप लगाएको छ। साथै, विशेष अदालतले हिरासतमा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको निष्कर्ष पार्टीले निकालेको छ।
बैठकले उपाध्यक्ष पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ।





