काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङसँग नेकपा एमालेले ‘एक–एक हिसाब’ राखेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालतलगायतका भौतिक सम्पत्तिमा भएको क्षति र एमाले नेतामाथि गरिएको धरपकडको विषयमा हिसाब हुने चेतावनी दिएका हुन्।

ADVERTISEMENT

उनले भने, “बालेन र सुधनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ। तिमीहरूसँग यसको हिसाब हुनेछ। एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ।”

बस्नेतले एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि निराधार आरोप लगाएर थुनिएको दाबी गर्दै वर्तमान सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप लगाए।

ADVERTISEMENT

उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङमाथि पनि विभिन्न आरोप लगाउँदै कुकर्म गर्नेहरू अन्ततः कानुनी दायरामा आउने दाबी गरे।

बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गरेको २४ घण्टा नबित्दै पक्राउ गर्ने प्रयास भएको उल्लेख गर्दै त्यसको पनि हिसाबकिताब हुने बताए।

उनले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा संलग्न व्यक्तिहरू अहिले सत्ताको संरक्षणमा रहेको आरोप लगाउँदै एमाले नेतृत्वविरुद्ध पार्टी र राज्य संयन्त्रकै माध्यमबाट योजनाबद्ध रूपमा भ्रम फैलाउने काम भइरहेको दाबी गरे।