काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार घट्नुको कारणबारे प्रतिनिधिसभा बैठकलाई स्पष्टीकरण दिएका छन् । पछिल्लो समय सेयर बजारमा देखिएको निरन्तर गिरावट र उतारचढावबारे वाग्लेले शुक्रबार संसद्‌मा स्पष्टीकरण दिएका हुन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले बजार घट्नुको मुख्य कारण ठूला अनियमिततामाथि सुरु भएको कानुनी प्रक्रिया र त्यसले लगानीकर्तामा पैदा गरेको मनोवैज्ञानिक त्रास रहेको दाबी गरे।

ADVERTISEMENT

सरकारले पूँजी बजार र बिमा क्षेत्रमा देखिएका ठूला विचलनहरूलाई गम्भीरताका साथ निगरानी गरिरहेको उनले बताए । हालै मात्र एक खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित विभिन्न मुद्दाहरू अगाडि बढेको र ती मुद्दाहरूको केन्द्रमा पुँजी बजार तथा बिमा क्षेत्र नै रहेको उनले दाबी गरे ।

‘अहिले करिब एक खर्ब हाराहारीको बिगोमा मुद्दा चलेको छ, जसमा क्यापिटल मार्केट र बिमा क्षेत्रको संलग्नता देखिएको छ। अनुसन्धान र कारबाहीको यो प्रक्रिया तीव्र पारिँदा कतै ‘म पनि कारबाहीमा पर्छु कि’ भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको देखिन्छ। यही मनोवैज्ञानिक प्रभावका कारण बजारमा उतारचढाव आएको हो,’ उनले भने ।

ADVERTISEMENT

ठूला अनियमिततामा संलग्नहरूमाथि कानुनी डण्डा चलाउन सुरु गर्दा बजारमा केही समयका लागि अन्यौल देखिनु स्वाभाविक भएको उनको भनाइ थियो । छानबिनको प्रक्रियाले निर्दोष लगानीकर्ताहरू आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । ‘हामी एक घन्टामा स्टक मार्केट कति अंकले घट्यो वा बढ्यो भनेर हेर्दैनौँ। सरकारको मुख्य ध्यान बजारको दीर्घकालीन स्वास्थ्य र स्थायित्वमा छ। हाम्रो प्राथमिकता बजारलाई पारदर्शी, मर्यादित र विश्वसनीय बनाउनु हो,’ उनले भने ।

पुँजी बजारको शुद्धीकरणका लागि चालिएका कदमहरूले तत्कालका लागि बजारमा केही असर देखिए पनि यसले भविष्यमा लगानीकर्ताको हित र बजारको जग बलियो बनाउने दाबी गरे । नयाँ सरकार बनेदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । जसकारण अहिलेसम्म लगानीकर्ताले चार खर्बभन्दा बढी पुँजी गुमाइसकेका छन् । नेप्से २७ सयको विन्दुमा आइपुगेको छ ।