काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग सोमबार छलफल गर्दै छन्।

आर्थिक वर्ष २०८३–८४ को बजेट कार्यान्वयनको पूर्वतयारी तथा सुझाव संकलनका लागि सुरु गरिएको छलफल शृंखलाअन्तर्गत बहुराष्ट्रिय कम्पनीहरूसँग संवाद हुन लागेको हो।
मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे सुरु हुने छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारहरूलाई आमन्त्रण गरिएको छ।

ADVERTISEMENT

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले प्रदान गरेका सुविधाहरूको प्रभावकारिता, उनीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या र नेपालमा थप लगानी विस्तारका सम्भावनाबारे जानकारी लिने छन् ।

ADVERTISEMENT

विशेषगरी, रोजगारी सिर्जना र लगानीको प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने नीतिगत तथा व्यावहारिक सहजीकरणका सम्बन्धमा मन्त्री वाग्लेले कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका हुन्।

मन्त्री वाग्लेले व्यवसायीहरूलाई आफ्ना समस्या र सरकारबाट अपेक्षित सहयोगका बारेमा लिखित रूपमा विवरण पेस गर्नसमेत आग्रह गरे। बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थमन्त्रीले सरोकारवालाहरूसँगको छलफललाई तीव्रता दिएका छन् ।

यसअघि उनले नेपालका ३३ ठूला औद्योगिक घरानाका प्रतिनिधि, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन्।