काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटको आकार ठूलो नभई राज्यको क्षमताअनुसार सन्तुलित रहेको दाबी गरेका छन् ।

आइतबार बजेटसम्बन्धी पत्रकार सम्मेलनमा उनले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्बसम्मको बजेट आउने अनुमान भए पनि अन्ततः करिब २१ खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको बताए ।

ADVERTISEMENT

‘यो पद र गहन जिम्मेवारी बोकेपछि राजकाजका सीमाबारे भित्रबाट बुझिन्छ नै,’ वाग्लेले भने, ‘सुरुमा २५ खर्बको बजेट आउँछ भन्ने हल्ला थियो, तर अन्तिममा २१ खर्ब हाराहारीमा सीमित गरिएको हो ।’

ADVERTISEMENT

वाग्लेका अनुसार बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको तुलनामा २८.५ प्रतिशत मात्र रहेको छ । उनले प्रक्षेपित जिडिपी करिब ७४ खर्ब ५८ अर्ब रहेको उल्लेख गर्दै त्यो तथ्यांक परिस्थितिअनुसार तलमाथि हुन सक्ने बताए ।

‘जीडीपी प्रक्षेपिक जीडीपीको सापेक्षतामा जम्मा २८.५ प्रतिशतको बजेट आएको छ । हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब छ । अब त्यो अलिकति तल पनि हुन सक्छ, त्यो पछिको कुरा भयो । मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला । तर आजका मितिमा यो चाहिँ ३० प्रतिशतभन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो २५ देखि, राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठुलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ भन्ने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु,’ उनले भने ।

ADVERTISEMENT

अर्थमन्त्रीका अनुसार सरकारले बजेटलाई २५–३० प्रतिशतको दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयनयोग्य बनाउने प्रयास गरेको छ । उनले सार्वजनिक ऋण बढेको तथ्य स्वीकार गरे ।