काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो समय चालेका कदमहरूले वित्तीय क्षेत्रमा नयाँ तरंग पैदा गरेको छ । विशेषगरी, नेपाल राष्ट्र बैंकको स्वायत्तता र कार्यक्षेत्रभित्र प्रवेश गरेर उनले सुरु गरेको नयाँ अभ्यासले धेरै प्रश्नहरू जन्माएका छन् ।

यस्तै, उनले आर्थिक वर्षको पहिलो महिनादेखि नै आन्तरिक ऋण उठाउन थालेका छन् । यसले उनको कार्यसम्पादनमा प्रश्न उब्जाएको छ ।
२०८० मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले जब बजेट भाषणमार्फत ६ खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने घोषणा गरेका थिए, प्रतिपक्षी बेञ्चमा बसेका वाग्ले आक्रोशित रूपमा प्रस्तुत भएका थिए ।

उनले भनेका थिए, ‘मलाई निन्द्रा लाग्न छाडेको छ। ऋणको व्ययभार असाध्यै चर्को रुपमा बढेर गएको छ। झण्डै झण्डै ६ सय अर्ब हामी ऋण बोक्दैछौं । वैदेशिक अनुदान सुकिरहेको अवस्थामा यो फुक्काफाल गरेर ल्याइएको बजेटमा ६ सय अर्ब चानचुन ऋणले मलाई निन्द्रा लाग्न छाडेको छ।’

ADVERTISEMENT

वाग्लेले अर्थमन्त्रीका रुपमा ल्याएकको बजेटमा ३१ प्रतिशत स्रोत सार्वजनिक ऋणबाट जोहो गर्ने लक्ष्य लिएका छन्।
जसको सुरुवात आर्थिक वर्षको पहिलो महिनाबाटै भइसकेको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरले चार वर्षे विकास ऋणपत्र २०८७ जारी गरेको छ । जसमा नेपाल सरकारको १० अर्बको चार वर्षे विकास ऋणपत्र साउन २७ गते बोलकबोलमार्फत बिक्री गरी साउन २८ गते निष्कासन गरिने उल्लेख छ । यो घटनाले अर्थमन्त्री स्वयंतर्फ प्रश्न उब्जाएको छ ।

ADVERTISEMENT

यस्तै, इतिहासमै पहिलोपटक अर्थमन्त्री वाग्ले आफैँले राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकहरूलाई मन्त्रालयमा बोलाएर सामूहिक छलफल गर्नु र सोही क्रममा डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने भएकाले चिन्नका लागि बोलाएको अभिव्यक्ति दिनुलाई अर्थ–राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । यो केवल एउटा प्रशासनिक भेटघाट मात्र नभई, केन्द्रीय बैंकभित्र आफ्नो बलियो पकड जमाउने राजनीतिक दाउपेचको रूपमा विश्लेषण गर्न थालिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले स्पष्ट रूपमा डेपुटी गभर्नर नियुक्तिको प्रक्रिया तोकेको छ । ऐनको दफा १६ अनुसार, गभर्नरको सिफारिसमा नेपाल सरकार (मन्त्रिपरिषद्ले) डेपुटी गभर्नरको नियुक्ति गर्छ । गभर्नरले राष्ट्र बैंकका विशिष्ट श्रेणीका अधिकृत (कार्यकारी निर्देशक) हरूमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । तर, वर्तमान अर्थमन्त्री वाग्लेले गभर्नरको यो विशेषाधिकारलाई नजरअन्दाज गर्दै आफैँ छनोटकर्ताको भूमिकामा उभिएका छन् । उनले गभर्नर विश्वनाथ पौडेललाई बाइपास गर्दै कार्यकारी निर्देशकहरूसँग छलफल गरेका थिए । जसलाई उचित मानिएको छैन ।

राष्ट्र बैंकको १८ जना कार्यकारी निर्देशकलाई मन्त्रालयमा डाकेर उनीहरूको नाडी छाम्नुलाई कतिपयले अघोषित अन्तर्वार्ताको संज्ञा दिएका छन् । यो कदमले राष्ट्र बैंकको संस्थागत स्वायत्ततामाथि प्रहार मात्र गरेको छैन, बरु अर्थमन्त्रीले गभर्नरलाई बाइपास गरेर सिधै तल्लो तहका कर्मचारीसँग सम्बन्ध बनाउन खोजेको स्पष्ट देखिन्छ ।

प्रधानमन्त्री बालेन शाह र राष्ट्र बैंकका गभर्नर पौडेलबीचको सम्बन्ध अहिले निकै सुमधुर देखिएको छ । प्रधानमन्त्रीले गभर्नरलाई आफ्नो विश्वासिलो पात्र वा असल मित्रको रूपमा हेरेका कारण गभर्नर पौडेलले आफूलाई सुरक्षित महसुस गरिरहेका छन् । तर, यही समीकरणमा अर्थमन्त्री वाग्ले भने आफूलाई एक्लो महसुस गरिरहेका छन् । यस घटनाले पुन: एकपटक अर्थमन्त्री र गभर्नरबीच हुनुपर्ने समन्वयको अभाव र एक–अर्काप्रतिको अविश्वास छताछुल्ल भएको छ ।

गभर्नरले आफ्नो स्वायत्तता प्रदर्शन गरिरहँदा अर्थमन्त्रीले भने डेपुटी गभर्नर पदमार्फत आफ्नो लाइनको मान्छे भित्र्याएर गभर्नरलाई घेराबन्दीमा पार्ने रणनीति लिएको देखिन्छ । राष्ट्र बैंकमा हाल एउटा डेपुटी गभर्नरको पद पाँच महिनादेखि खाली छ, जहाँ आफ्नो खल्तीको मान्छे हाल्न अर्थमन्त्री वाग्लेले आफू अनुकुलको पात्र नियुक्त गर्ने वातावरण बनाइरहेका छन् ।

गत २४ चैतमा किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गर्दा पनि अर्थमन्त्री वाग्लेको ठूलो चासो थियो । गभर्नरले सिफारिस गरेका नाममध्ये अर्थमन्त्री वाग्लेले रुचाएका व्यक्ति मात्र नियुक्त भए, तर दोस्रो पद अझै रिक्त राखियो ।

१८ जना कार्यकारी निर्देशकलाई बोलाएर उनीहरूको विचार र झुकाव बुझ्न खोज्नुले के संकेत गर्छ भने अबको डेपुटी गभर्नर योग्यता वा वरिष्ठताका आधारमा भन्दा पनि अर्थमन्त्री वाग्लेको भजन गाउने चाटुकारको आधारमा छानिने जोखिम बढेको छ । बैंकर्ससँगको भेटघाट औपचारिक मात्र हुनु, भन्सारका विषयमा विवाद आउनु र राष्ट्र बैंकको आन्तरिक मामिलामा हात हाल्नुले अर्थमन्त्री रक्षात्मक अवस्थामा पुगेको देखिन्छ ।