काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । आइतबार दिउँसो अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक सुरु भएको छ ।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसिरहेको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको छ।

बैठकमा सहभागी मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयका प्राथमिकता, चालू आयोजनाको अवस्था र बजेट कार्यान्वयनका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम छ। अर्थमन्त्री वाग्लेले बजेट विनियोजन मात्र ठूलो कुरा नभई यसको समयमै कार्यान्वयन र त्यसबाट प्राप्त हुने प्रतिफल मुख्य हुने भएकाले सबै मन्त्रालयहरू बीच समन्वय हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

ADVERTISEMENT

मन्त्रालयले समयमै बजेट कार्यान्वयन प्रक्रियालाई चुस्त बनाउन यो छलफल आयोजना गरेको हो। यस छलफलबाट प्राप्त सुझावका आधारमा चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन गरिने भएको हो।

ADVERTISEMENT