काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान र नवप्रवर्तनसम्बन्धी अधिकार सबै प्रधानमन्त्री आफैंले राखेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बालेन्द्र शाह बालेन प्रधानमन्त्री भएका बेला विज्ञान र नवप्रवर्तन मन्त्रालय गठन नभएको भन्दै यो क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । उनले विज्ञान र नवप्रवर्तनका क्षेत्रका सबै काम र अधिकार प्रधानमन्त्रीसँगै रहेको बताए ।

ADVERTISEMENT

पुनले आफूलाई मन्त्री बनाएकोमा सरकारलाई धन्यवाद दिँदै नेपालमा नवप्रवर्तनको अवधारणा भर्खर बढ्दै गएको भन्दै विकसित देशहरूले आविष्कार गर्ने र नेपाल जस्ता देशहरूले त्यही आविष्कारलाई नवप्रवर्तन गरेर व्यावसायिक प्रयोजनमा प्रयोग गर्नुपर्ने बताए। उनले आफूले पनि राष्ट्रिय आविष्कार केन्द्र भनेर नामकरण गरेको, तर त्यो बेलामा इनोभेसनको नेपाली शब्द खोज्दा नभेटेकाले आविष्कार केन्द्र नाम राखे पनि काम भने नवप्रवर्तनको भएको बताए।

२०५३ सालमै विज्ञान मन्त्रालय स्थापना भएको र विभिन्न मन्त्रालयहरूसँग जोड्नेक्रममा सातौँ चरणमा आएर एकल मन्त्रालय भएको उनले बताए। मन्त्रालय गठन भए पनि विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय काम हुन नसकेको भन्दै अब त्यसमा केन्द्रित हुनुपर्ने बताए। नवप्रवर्तनका लागि आवश्यक बजेटको अभाव रहेको र केन्द्रसँगै हरेक प्रदेशले समेत विज्ञान, प्रविधि र नवप्रवर्तनमा बजेट छुट्याए एकीकृत रूपमा काम गर्न सकिने उनले बताए ।

ADVERTISEMENT

आफू मन्त्री बन्नुको कारणबारे प्रस्टीकरण दिँदै उनले भने, ‘म त यस्तो हैन दाजै पिरतीले जोगी बनायो’ भने गीत जस्तै भयो। आफू सांसद अनि मन्त्री बन्ने व्यक्ति नभएको, तर देश र गाउँको पिरतीले सांसद हुँदै मन्त्री बनेको दाबी गरे।

पुनले आफ्नो मन्त्रालयलाई ४ अर्ब प्राप्त भएकोमा झन्डै साढे तीन अर्ब अबन्डा रहेको भन्दै यो सबै बजेटको कार्यक्रम बनाउनै बाँकी रहेको बताए । यो मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कुल बजेटको एक प्रतिशत रकम विनियोजन गरेको छ ।