काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार सम्हालेपछि आफूले पहिलो दिन गरेका निर्णय सार्वजनिक गरेका छन्। उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई व्यवस्थित र प्रभावकारी बनाउन आधारभूत संरचनादेखि कानुनी व्यवस्थासम्म नयाँ ढंगले अघि बढाइने बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री पुनले मन्त्रालयमा सबै कुरा ‘शून्यबाट’ सुरु गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्। अन्य मन्त्रालयजस्तो पूर्वतयारी र संरचना पर्याप्त नभएकाले प्रारम्भिक आधार निर्माणमै ध्यान केन्द्रित गरिएको उनको भनाइ छ।
उनका अनुसार पहिलो निर्णयका रूपमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन ल्याउन आवश्यक विधेयक तयार गर्ने प्रक्रिया सुरु गरिएको छ। यस्तै मन्त्रालय सञ्चालनका लागि आवश्यक जनशक्ति, दरबन्दी र कार्यप्रणाली निर्धारण गर्न संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने निर्णय पनि गरिएको छ।
मन्त्री पुनले विभिन्न मन्त्रालयअन्तर्गत छरिएर सञ्चालन भइरहेका अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनका कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउने विषयमा तत्काल गहन छलफल सुरु गरिने बताएका छन्।
स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले गत मंगलबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको जिम्मेवारी दिएको थियो। विज्ञान, प्रविधि र नवप्रवर्तनलाई विकासको प्रमुख आधार बनाउने आफ्नो प्रतिबद्धता उनले दोहोर्याएका छन्।








