काठमाडौं । शिक्षामन्त्री महावरी पुनले आफूलाई पाँचवटा देशको भ्रमणको निम्तो आए पनि नजाने जानकारी गराएका छन् । मन्त्री भएपछि पहिले तीनवटा देशको भ्रमण आए पनि नगाएको र अहिले दुईवटा देशबाट आए पनि आफू नजाने उनले जानकारी दिएका छन् ।

उनले इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४ देखि ६ तारिखसम्म हुने मन्त्रीस्तरीय बैठक र साउदी अरेबियामा आगामी मे ३ देखि ४ तारिखसम्म हुने ‘ह्युम्यान क्यापासिटी इनिसियटिभ’ कार्यक्रममा सहभागिताका लागि आफूलाई प्राप्त निमन्त्रणा पत्र पनि सार्वजनिक गरेका छन् ।

ADVERTISEMENT

पछिल्लोपटक इजरायल र साउदी अरबबाट भ्रमणको निम्तो आएको उनले खुलाएका छन् । देशको अर्थतन्त्र नसुधारेसम्म जुनसुकै प्रधानमन्त्री र मन्त्री आए पनि केही प्रगति नहुने भन्दै उनले विदेश घुमेर अर्थतन्त्र बन्छ ? भन्दै प्रश्न गरेका छन् ।

ADVERTISEMENT

‘म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गइनँ । अहिले पनि दुईवटा निमन्त्रणा आएछ । यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारे सम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?’ उनले भनेका छन् । युवा मन्त्री गुप्ता विदेश भ्रमणकाे विवादमा तानिएपछि मन्त्री पुनले आफ्नाे भनाइ सार्वजनिक गरेका हुन् ।

तर सुशीला कार्की नेतृत्वको सरकारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको सिफारिसमा युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्ता अहिले निकै चर्चामा छन् ।

रास्वपाका नेता गुप्तालाई पदबाट राजीनामा दिन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी थिइन् । तर उनले आफू अमेरिका भ्रमण गरेर फर्केपछि मात्रै राजीनामा दिने भन्दै उनले अड्डी कसेका छन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले जेनजी आन्दोलनपछिको विषयमा आयोजना गर्न आफूलाई बोलाएको र अमेरिकाबाट फर्केपछि आफूले राजीनामा दिने उनको भनाइ थियो । तर अहिले आयोजक भनिएको एनआरएनए अमेरिकाले मन्त्री गुप्तालाई नबोलाएको दाबी गरेपछि मन्त्री गुप्ता विवादमा तानिएका छन् ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको समाचार सार्वजनिक भएपछि परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गरेर अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेका हुन् ।

‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं,’ उनले भनेका छन्, ‘साथै, परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।’

रास्वपाको उपसभापतिमा प्रस्तावित कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएर बाहिरिसकेका छन् । रास्ववाको उपसभापति प्रस्तावित भए पनि आफू कुनै पार्टीमा आबद्ध नभएको भन्दै उनले अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । घिसिङ, गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलमाथि दलीय राजनीतिमा सहभागी भएको आरोप लागेको छ । तर खरेलले आफू कुनै दलको सदस्य नभएको भन्दै आएका छन् । रास्वपाका नेताहरुका अनुसार खरेल आगामी निर्वाचनमा ललितपुर–२ बाट उनी उम्मेदवार बन्दै छन् ।