काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ७ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार उक्त रकम एक वर्ष अर्थात् ३६६ दिनका लागि मुद्दति निक्षेपका रूपमा लगानी गरिनेछ। यो लगानी सन् २०२६ जुन १९ देखि २०२७ जुन १९ सम्म कायम रहनेछ।
राष्ट्र बैंकले कुल रकममध्ये ५ अर्ब ६० करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, १ अर्ब ५ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा तथा ३५ करोड रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा लगानी गर्ने जनाएको छ।
उक्त निक्षेप प्राप्त गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले असार ३ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार लगानीका लागि आवेदन दिने संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा रहेको हुनुपर्नेछ। साथै न्यूनतम पुँजीकोष कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको, खुद निक्षेपको तुलनामा कम्तीमा २० प्रतिशत तरल सम्पत्ति कायम गरेको तथा रियल स्टेट कर्जा सम्बन्धी तोकिएका मापदण्ड पूरा गरेको हुनुपर्नेछ।
त्यस्तै अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा आर्जन गरेको र सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने लगायतका सर्तहरू पनि पूरा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।






