काठमाडौं। नेपाल राष्ट्र बैंकले गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहेको जानकारी दिएको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत थियो।

ADVERTISEMENT

आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.८६ प्रतिशतको तुलनामा कम हो।

खाद्य तथा पेय पदार्थ समूहमा तरकारीको मूल्य ११.६३ प्रतिशत, घ्यू–तेल ७.६१ प्रतिशत र फलफूल ७.४१ प्रतिशतले बढेको छ। यस्तै, दाल–गेडागुडी ५.१९ प्रतिशत, खाद्य–खाद्यजन्य पदार्थ २.९७ प्रतिशत र मरमसलाको मूल्य २.६१ प्रतिशतले घटेको छ।

ADVERTISEMENT

गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा २१.९८ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, कपडा–जुत्ता ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थ ३.८५ प्रतिशतले बढेको छ। सञ्चार उप–समूहको मूल्य भने ०.०८ प्रतिशतले घटेको छ।

क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रमा मुद्रास्फीति २.५२ प्रतिशत र सहरी क्षेत्रमा ३.५१ प्रतिशत रहेको छ। प्रदेशअनुसार कोशी प्रदेशमा ३.५३ प्रतिशत, मधेश प्रदेशमा ५.१४ प्रतिशत, बागमती प्रदेशमा ३.१० प्रतिशत, गण्डकी प्रदेशमा २.४२ प्रतिशत, लुम्बिनी प्रदेशमा ३.२९ प्रतिशत, कर्णाली प्रदेशमा १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १.६४ प्रतिशत रहेको छ।

काठमाडौँ उपत्यकामा वार्षिक मुद्रास्फीति ३.४८ प्रतिशत, तराईमा ३.६६ प्रतिशत, पहाडमा २.६८ प्रतिशत र हिमाल क्षेत्रमा २.५८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।