काठमाडौं । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय रुपैयाँ (भारु)का नोट नेपालमा विधिवत रूपमा प्रयोग गर्न सकिने व्यवस्था लागू गरेको छ। आवश्यक प्रक्रियागत व्यवस्था पूरा भएपछि केन्द्रीय बैंकले बिहीबारदेखि उक्त नोटको प्रयोग खुला गरेको हो।
राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार ९ नोभेम्बर २०१६ पछि निष्कासन भएका २०० र ५०० भारुका नोट नेपाल ल्याउन, भारत लैजान तथा नेपाली बजारमा कारोबार गर्न सकिनेछ। बैंकहरूले पनि यी नोट सहज रूपमा सटही गर्न सक्ने व्यवस्था गरिएको छ।
यद्यपि, ९ नोभेम्बर २०१६ अघि निष्कासन भएका ५०० र १ हजार भारुका नोट भने प्रयोग गर्न पाइने छैन। साथै, हाल प्रचलनमा रहेको २ हजार भारुको नोट ओसारपसार गर्न वा साथमा राख्न पनि निषेध गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार अब नेपाली बैंकहरूले सर्वसाधारणबाट ५०० भारुसम्मका नोट संकलन गरी राष्ट्र बैंकमार्फत भारतीय रिजर्भ बैंक (आरबीआई)मा रहेको आफ्नो खातामा जम्मा गर्न सक्ने व्यवस्था भएपछि यी नोटको प्रयोग खुला गरिएको हो।
यसअघि भारतीय रिजर्भ बैंक (आरबीआई) ले विदेशी विनिमय व्यवस्थापन नियमावली संशोधन गर्दै १०० भारुभन्दा माथिका नोट २५ हजार भारुसम्म नेपाल–भारतबीच ल्याउन वा लैजान पाउने व्यवस्था गरेको थियो।
त्यसपछि नेपाल सरकारले पनि सिद्धान्ततः अनुमति दिएको भए पनि प्रक्रियागत तयारी पूरा नभएकाले कार्यान्वयन रोकिएको थियो। आवश्यक व्यवस्था पूरा भएपछि राष्ट्र बैंकले अब उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो।










