काठमाडौं । अबदेखि विदेशबाट दैनिक २५ लाख रुपैयाँ रेमिट्यान्स  पठाउन र २५ किलो सुन आयात गर्नसकिने भएको छ । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा र विप्रेषण (रेमिट्यान्स) सम्बन्धी भुक्तानी सीमामा परिवर्तन गरेपछि व्यवसायीलाई थोरै राहत हुने भएको हो ।

शुक्रवार जारी एकीकृत परिपत्र संशोधनमार्फत यी नयाँ व्यवस्था लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा २० किलोग्रामबाट बढाएर २५ किलोग्राम कायम गरिएको छ ।

ADVERTISEMENT

नयाँ नियमअनुसार अब नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकजस्ता प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक) भुक्तानी गर्न सकिनेछ । यसअघि यो सीमा २० लाख रुपैयाँ थियो ।

यस्तो रकम संकलन र भुक्तानी गर्दा प्रचलित नियमअनुसार ग्राहक पहिचानसम्बन्धी कागजात अनिवार्य लिनुपर्नेछ । साथै, नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।