काठमाडौँ। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रभित्र टेम्पो भिरबाट खसालिएको घटनामा संलग्न रहेको आरोपमा १२ जना वन कर्मचारी पक्राउ परेका छन्। घटनापछि सामाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
भिमदत्त राजमार्गअन्तर्गत गाइमारे क्षेत्रमा शनिबार वन कर्मचारीहरूले एक स्थानीयको टेम्पोलाई भिरबाट धकेलेर खसालेका थिए। वन कार्यालयका अनुसार उक्त टेम्पो वन क्षेत्र अतिक्रमण गरी टहरोका रूपमा प्रयोग गर्दै व्यापारिक गतिविधि सञ्चालन गरिएको आरोप छ।
घटनाको भिडियो सार्वजनिक भएपछि आइतबार साँझ डिभिजन वन कार्यालय तथा सब–डिभिजन वन कार्यालयका १२ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा दुई जना वन अधिकृतसहित वन रक्षकहरू रहेका छन्। यद्यपि, प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।
कैलालीका प्रहरी प्रमुख (एसपी) नरेन्द्र चन्दका अनुसार पहिलो चरणमा वन कर्मचारी र पीडित पक्षबीच छलफल गराइनेछ। “पहिले दुवै पक्षलाई राखेर छलफल गराउँछौँ। सहमति हुन नसकेमा जाहेरी दर्ता गरी कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइन्छ,” उनले बताए।
हाल पक्राउ परेका कर्मचारीहरूसँग घटनाबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। घटनाले वन क्षेत्र व्यवस्थापन, कानुनी अधिकारको प्रयोग तथा सर्वसाधारणको सम्पत्तिमाथिको व्यवहारबारे व्यापक बहस सिर्जना गरेको छ।
प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।








