वीरगन्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि चयनको विषयमा विवाद हुँदा पार्टीका दुई पक्षबीच झडप भएको छ। शनिबार वीरगन्ज–९ स्थित होटल गेट वेमा निर्वाचन प्रक्रिया चलिरहेका बेला भएको झडपमा तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयनमा एकलौटी गरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले निर्वाचन समिति समक्ष अधिवेशन स्थगित गर्न मागसहित ज्ञापनपत्र बुझाएका थिए। निर्वाचन समितिले केही समय प्रक्रिया स्थगित गरे पनि पुनः सुरु गरेपछि विवाद चर्किएको थियो।
झडप होटलभित्रबाट सुरु भई सडकसम्म पुगेको थियो। कार्यकर्ताहरूले एकअर्कामाथि हेलमेटसमेत प्रहार गरेका थिए। अवस्था नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेपछि स्थिति सामान्य बनेको थियो।
घटनापछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। निर्वाचन समितिका अनुसार अब प्रक्रिया आइतबार बिहान ८ बजेदेखि पुनः सञ्चालन गरिनेछ।
पर्सा रास्वपामा लामो समयदेखि देखिएको आन्तरिक गुटगत विवाद जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा खुला रूपमा सतहमा आएको हो। जिल्ला सभापति तथा सांसद हरि पन्त र सांसद शुशिल साह कानु पक्षबीच नेतृत्वको प्रतिस्पर्धा रहेको बताइएको छ।








