काबुल । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लंघन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएका छन् । १४ जना घाइते भएका छन् ।

तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ ।

ADVERTISEMENT

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मंगलबार राति र बुधबार बिहानको बीचमा पाकिस्तानले कुनार, खोस्त र पक्तिका प्रान्तका बस्तीहरूलाई लक्षित गरी बमबारी गरेको बताए । उनका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

मुजाहिदले आक्रमणका क्रममा १४ जना महिला घाइते भएको जानकारी दिँदै घटनापछिका तस्बिरसमेत सार्वजनिक गरे । तालिबानले यसलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लंघन र नागरिकमाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ ।

ADVERTISEMENT

अफगान अधिकारीहरूका अनुसार पछिल्लो एक वर्षयता अफगान भूमिमा भएका पाकिस्तानी सैन्य कारबाहीका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । सीमापार तनाव बढ्दै जाँदा दुवै देशबीचको सम्बन्ध लगातार बिग्रँदै गएको बताइएको छ ।

मार्च महिनामा भएको एक ठूलो आक्रमणमा पाकिस्तानी सेनाले काबुलस्थित पुनर्वास केन्द्रलाई निशाना बनाएको दाबी गरिएको छ । तालिबानका अनुसार उक्त घटनामा कम्तीमा २६९ जनाको मृत्यु भएको थियो । त्यसयता सीमावर्ती क्षेत्रमा बारम्बार सैन्य कारबाही भइरहेका छन् ।

अक्टोबर २०२५ मा इस्लामाबादले राजधानी काबुलसहित अफगानिस्तानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गरेपछि दुई देशबीचको लामो समयदेखिको तनाव खुला सीमापार द्वन्द्वतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ । निरन्तर आक्रमण र झडपका कारण दशौँ हजार अफगान नागरिक विस्थापित भएका छन् भने धेरै परिवार घरबार छोड्न बाध्य भएका छन् ।

तालिबानले पाकिस्तानले आफ्ना आन्तरिक सुरक्षा चुनौतीहरूलाई आधार बनाएर अफगान क्षेत्रमा बारम्बार सैन्य हस्तक्षेप गरिरहेको आरोप लगाएको छ । पाकिस्तानले भने तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) र बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) जस्ता समूहलाई अफगान भूमिबाट सहयोग मिलिरहेको दाबी गर्दै आएको छ ।

इस्लामाबादले तालिबानमाथि ती समूहहरूलाई आश्रय दिएको आरोप दोहोर्‍याउँदै आएको भए पनि तालिबानले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।