काठमाडौं । २०८२ को ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ गायिका मीरा राणा र संगीतकार सीके रसाइलीलाई प्रदान गरिएको छ ।
भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त सहकार्यमा शनिबार कुपन्डोलस्थित होटेल हिमालयमा आयोजित विशेष समारोहमा उनीहरूलाई एक लाख रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको हो ।
भक्तराज आचार्यको योगदानको सम्मानस्वरूप स्थापना गरिएको सम्मानमा नेपाली संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने गरिएको छ ।
त्यसैगरी, ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान २०८२’ संगीतकर्मी दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ । उनीहरूलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । स्वास्थ्य उपचार आवश्यक पर्ने कलाकारहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले यो सम्मान दिने गरिएको छ ।

आइतबार ललितपुरमा आयोजित कार्यक्रममा भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान प्रदान गरेका हुन् ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।
नेपाली संगीत क्षेत्रका कलाकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कलाकारहरूले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।








