काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा तत्कालै सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनामूलक सन्देश जारी गर्दै सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा भुक्तानी सेवा प्रदायकका वालेटलगायतका सेवाहरू ग्राहकको दर्ता गरिएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने उल्लेख गरेको छ ।
यस्ता माध्यममा खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुने भएकाले मोबाइल नम्बर परिवर्तन भएमा अद्यावधिक जानकारी दिन आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा मोबाइल नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी नदिँदा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ ।
यसैले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई आफ्नो वित्तीय विवरण सुरक्षित राख्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
साथै, मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ । राष्ट्र बैंकले वित्तीय सेवासम्बन्धी गुनासो वा उजुरीका लागि आफ्नो अनलाइन गुनासो पोर्टलमार्फत समेत सेवा उपलब्ध गराएको जनाएको छ ।










