काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले एक सय अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। राष्ट्र बैंकले आज (फागुन १९) ६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो। यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने जनाइएको छ।

राष्ट्र बैंकका अनुसार सो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी फागुन २५ गते गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

ADVERTISEMENT

उक्त उपकरणमा लगानी गर्ने बैंकहरूले त्यसलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

कात्तिकयता केन्द्रीय बैंकले पाँचौँ पटक तरलता खिच्न लागेको हो। यसअघि फागुन ५ गते ४० अर्ब, १० गते ३० अर्ब, १३ गते ४० अर्ब र १७ गते १ खर्ब १० अर्ब रुपैयाँ तरलता तानिएको थियो।