काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको छ। अब ग्राहकले नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल एप तथा वेबसाइटमार्फत बैंक खाता बन्द गर्न सक्नेछन्।
शुक्रबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको परिपत्रअनुसार ग्राहकले शाखामा उपस्थित भएर वा डिजिटल माध्यमबाट खाता बन्द गर्न अनुरोध गरेमा सम्बन्धित बैंकले उक्त खातामा रहेको रकम ग्राहकले तोकेको अर्को बैंक वा वित्तीय संस्थाको खातामा स्थानान्तरण गरी खाता बन्द गर्नुपर्नेछ।
राष्ट्र बैंकले ग्राहकको पहिचान गरी नेपालभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउन पनि बैंकहरूलाई निर्देशन दिएको छ।
परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाले निष्क्रिय खाताको संख्या घटाउने कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्नुपर्नेछ।
साथै, सक्रिय खाता निष्क्रिय हुनुअघि ग्राहकलाई फोन, एसएमएस, इमेललगायत माध्यमबाट नियमित जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। निष्क्रिय खाता पुनः सक्रिय गराउन पनि कम्तीमा छ–छ महिनाको अन्तरालमा ग्राहकलाई सम्पर्क गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्नेछ।
राष्ट्र बैंकले पुनः सञ्चालन भएका निष्क्रिय खाताबाट हुन सक्ने अस्वाभाविक कारोबारको निगरानी गर्ने प्रणाली विकास गर्न पनि बैंकहरूलाई निर्देशन दिएको छ।
यस्तै, निष्क्रिय खाताको दुरुपयोग, मनी म्युल कारोबार तथा वित्तीय अपराधबारे जनचेतना फैलाउने सामग्री नियमित रूपमा प्रकाशन तथा प्रसारण गर्न र यस्ता गतिविधि रोक्न कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने दायित्व पनि बैंक तथा वित्तीय संस्थालाई दिइएको छ।






