चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव भएपछि बिरामीको उपचार प्रभावित भएको छ । अस्पताल प्रशासनका अनुसार विश्वव्यापी आपूर्ति संकटका कारण क्यान्सर उपचारमा प्रयोग हुने केही मुख्य औषधि अस्पतालमा उपलब्ध हुन नसकेको हो ।
अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार विशेषगरी कार्बोप्लाटिन र सिसप्लाटिन नामक औषधिको गम्भीर अभाव देखिएको छ । उनका अनुसार यी औषधि क्यान्सरको केमोथेरापी उपचारमा अत्यन्त महत्वपूर्ण मानिन्छन् ।
“यी औषधि बिना केमोथेरापीको पूरा योजना प्रभावकारी रूपमा सञ्चालन गर्न सकिँदैन,” डा साहले भने, “औषधिको अभावले उपचारको प्रभावकारितामा गम्भीर असर परेको छ ।”
उनका अनुसार समस्या नेपालमा मात्र नभई विश्वव्यापी रूपमा देखिएको हो । औषधि उत्पादनमा आवश्यक पर्ने मुख्य कच्चापदार्थ (एपिआई) को आपूर्ति घटेका कारण उत्पादनमा कमी आएको बताइएको छ ।
अस्पतालका अनुसार दैनिक करिब २०० जना बिरामीले डे–केयर तथा वार्डमार्फत केमोथेरापी सेवा लिने गरेका छन् । तर मुख्य औषधि अभाव भएपछि उपचारमा सम्झौता गर्नुपर्ने अवस्था सिर्जना भएको चिकित्सकहरूको भनाइ छ ।
कतिपय बिरामीले छिमेकी मुलुकबाट औषधि ल्याउने गरेको पाइएको छ । तर अस्पतालले यस्ता औषधि गुणस्तरहीन, सिल तोडिएका वा अवैध रूपमा भित्र्याइएका हुन सक्ने भन्दै सचेत गराएको छ ।
डा साहका अनुसार क्यान्सरका धेरै औषधि २५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सुरक्षित राख्नुपर्ने हुन्छ । तर चितवनजस्तो गर्मी क्षेत्रमा झोलामा बोकेर ल्याइएका औषधिको प्रभावकारिता कम हुनसक्ने र त्यसले बिरामीलाई थप जोखिममा पार्ने चेतावनी दिइएको छ ।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा शिवजी पौडेलले कार्बोप्लाटिन र सिसप्लाटिनको आपूर्ति करिब छ महिनादेखि बन्द भएको जानकारी दिए । उनका अनुसार अस्पतालमा रहेको स्टकसमेत सकिएको छ ।“कार्बोप्लाटिन जेठ २ गतेसम्म पुग्ने स्टक थियो, अहिले त्यो पनि सकिएको छ,” उनले भने ।
हाल बङ्गलादेशको एक कम्पनीमार्फत केही मात्रामा औषधि नेपाल ल्याइएको र अस्पतालमा आपूर्ति हुने अपेक्षा गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले औषधि अभावबारे स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन लाई जानकारी गराइएको बताए । बालबालिकाका लागि छुट्टै परियोजनाअन्तर्गत रहेको कार्बोप्लाटिन र सिसप्लाटिन अन्य बिरामीलाई पनि प्रयोग गर्न अनुमति मागिएको उनले जानकारी दिए ।
अस्पतालले औषधि व्यवस्था विभाग र सम्बन्धित निकायलाई अवैध ओसारपसार तथा कृत्रिम अभावमाथि कडा अनुगमन गर्न आग्रह गरेको छ ।





