काठमाडौं । बाढीपहिरोबाट क्षति पुगेको बीपी राजमार्गका विभिन्न खण्डमा पुनर्निर्माण तथा स्तरोन्नति कार्य तीव्र गतिमा अघि बढाइएको छ । सडक विभागका अनुसार क्षतिग्रस्त स्थानहरूमा आरसिसी पर्खाल निर्माण, सडक चौडा गर्ने कार्य तथा नयाँ संरचना निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।
विभिन्न स्थानमा आरसिसी पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल निर्माणको काम सुरु गरिएको छ । त्यसैगरी चारसयबेँसी र भकुण्डेबेँसी क्षेत्रमा समेत आरसिसी पर्खाल निर्माण कार्य अघि बढाइएको सम्बन्धित अधिकारी योगेशले जानकारी दिएका छन् ।
डालाबेँसी, मङ्गलटार खण्ड तथा चारसयबेँसीदेखि नार्के खण्डसम्म सडक चौडा गर्ने कार्यसमेत भइरहेको छ । गत वर्ष र यस वर्षको बाढीले पूर्ण रूपमा क्षति पुर्याएका (वासआउट) स्थानहरूमा भविष्यमा क्षति नहुने गरी नयाँ डिजाइनअनुसार संरचना निर्माण भइरहेको छ ।
यस पुनर्निर्माण योजनाअन्तर्गत क्षतिग्रस्त सडकखण्डमा सडक स्तरोन्नति गर्दै दुई लेनको राजमार्ग बनाइने भएको छ । यसका साथै राजमार्गभित्र रहेका पुलहरूलाई पनि स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने योजना रहेको छ ।
“पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने भित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर दुई लेनको संरचना बनाइनेछ,” सम्बन्धित अधिकारीले बताए । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्ने योजना रहेको छ ।
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीसँग रु १ अर्ब ४२ करोड ३७ लाखमा ठेक्का सम्झौता गरिएको छ । त्यस्तै चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्म ११.०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु १ अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको छ ।
नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किलोमिटर सडक पुनर्निर्माणका लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग रु ६१ करोड (भ्याटसहित) मा ठेक्का सम्झौता गरिएको छ ।
सरकारले क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि कुल रु ८ अर्ब ५० करोड स्रोत सहमति दिएको छ । यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि रु ७ अर्ब ५० करोड र सिन्धुलीको एक खण्डका लागि रु १ अर्ब स्रोत सहमति प्रदान गरिएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु गरिएको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी) विसं २०७२ असार १८ गते नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।








