खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङ ले दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियार हत्या प्रकरणमा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चुइचुम्मा–४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ तथा बतासेकै दीपक राई रहेका छन् । प्रहरीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
रेश्मिका गत भदौ ३० गते राति मृत अवस्थामा फेला परेकी थिइन् । घटनाबारे थप अनुसन्धानका लागि उच्च अदालत ओखलढुङ्गाको आदेशपछि तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन् ।
यसअघि उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज १ गते पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
पीडित परिवारले थप तीन जनाको नाम उल्लेख गर्दै गत चैत २१ गते उच्च अदालत ओखलढुङ्गामा किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा अदालतले चैत २८ गते घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ








