काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई सन्तुष्ट बनाउने उद्देश्यले आफूले फिल्म निर्माण तथा अभिनयमा काम गर्ने गरेको बताएका छन्।
दसैँलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै २’ ले घरेलु बजारमा अपेक्षित व्यापार गर्न नसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गिरीले आफ्ना समूहले निर्माण गरेका राम्रा फिल्मले समेत अपेक्षाअनुसार कमाइ गर्न नसकेको बताएका हुन्।
‘हाम्रो समूहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६’ लाई धेरैले राम्रो भन्नुहुन्छ, तर त्यसको कमाइ अन्यभन्दा कम छ। यसपटक पनि हामीले सकारात्मक प्रतिक्रिया पाएका छौँ, तर कमाइ भने राम्रो हुन सकेको छैन,’ उनले भने।
गिरीले आफ्नो समूहसँग जोडिएर फिल्म निर्माण गर्ने निर्माताको लगानी सुरक्षित गर्नु आफूहरूको प्राथमिकता रहेको बताए। उनका अनुसार निर्माण शैली र कथ्य प्रस्तुतिका कारण फिल्मको बजेट केही बढ्ने गरेको छ।
‘हाम्रो मेकिङ र कथ्य शैलीले अलि बजेट बढाउने गरेको छ, त्यसैले हामी लगानी सुरक्षित हुने सङ्घारमा छौँ,’ उनले भने।
फिल्म ‘छ माया छपक्कै २’ मा रोहित अधिकारी निर्माताका रूपमा जोडिएका छन्। त्यस्तै, दीपकराज गिरी र दीपाश्री निरौलाले अभिनय, लेखन तथा सिर्जनात्मक पक्षमा योगदान दिएका छन्।
टेलिफिल्म हुँदै ठूलो पर्दामा स्थापित भएको दीपकराज गिरीसहितको समूहले निर्माण गरेका फिल्ममध्ये ‘छ माया छपक्कै २’ को हालसम्मको कमाइ सबैभन्दा कम रहेको बताइएको छ।
बक्सअफिस स्रोतका अनुसार फिल्मले हालसम्म घरेलु बजारमा तीन करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकारको अभिनय रहेको छ।
यसको अघिल्लो भाग ‘छ माया छपक्कै’ ले घरेलु बजारमा नौ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। पहिलो भागको व्यावसायिक सफलताका कारण सिक्वेलप्रति पनि दर्शकको चासो थियो। तर, उपलब्ध बक्सअफिस विवरणअनुसार दोस्रो भागको हालसम्मको कमाइ अघिल्लो फिल्मको तुलनामा कम देखिएको छ।
फिल्मको व्यावसायिक प्रदर्शन र दर्शकबाट प्राप्त प्रतिक्रियाबीचको अन्तरले नेपाली चलचित्र क्षेत्रमा निर्माण लागत, कथावस्तु, दर्शकको रुचि र लगानी सुरक्षाको विषयलाई पुनः चर्चामा ल्याएको छ।








