सुर्खेत । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ गतेदेखि १४ गतेसम्म मौसम प्रभावित हुन सक्ने सम्भावना छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाअनुसार बंगालको खाडीमा विकसित चक्रवातको प्रभाव बिहीबार रातिदेखि देखिन सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

कर्णाली प्रदेशका हिमाली जिल्लासहित हुम्लाका केही स्थानमा हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको र शुक्रबार तथा शनिबार देशका विभिन्न भूभागमा समेत वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

ADVERTISEMENT

सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै हुम्ला र डोल्पा जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

हुम्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठकले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली क्षेत्रमा हिमपात तथा तल्लो भूभागमा वर्षा हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले जारी गरेको सूचनामा धानलगायतका खडा बाली काट्ने, भित्र्याउने र सुरक्षित भण्डारण गर्ने काम कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न आग्रह गरिएको छ। सम्भावित वर्षाका कारण कृषि उत्पादनमा क्षति पुग्न सक्ने भएकाले किसानलाई मौसमको पूर्वानुमानअनुसार आवश्यक तयारी गर्न अनुरोध गरिएको हो।

सम्भावित हिमपात र प्रतिकूल मौसमलाई ध्यानमा राख्दै पर्यटक, तीर्थयात्री तथा पदयात्रामा जाने व्यक्तिलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ। त्यस क्षेत्रमा पुगिसकेका व्यक्तिलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

त्यस्तै, उच्च चरन क्षेत्रमा रहेका पशुचौपाया, गोठाला तथा जडीबुटी सङ्कलन गर्न गएका व्यक्तिलाई पनि जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ठकुल्लाले जारी गरेको सूचनामा उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटक तथा ती क्षेत्रमा जाने व्यक्तिलाई यात्रा नगर्न अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले जोखिमको अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्रा नगर्न र आवश्यक सुरक्षा व्यवस्थाबिना जोखिमयुक्त क्षेत्रमा नजान सम्बन्धित सबैलाई सूचित गरेको छ। ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शकलाई समेत सूचनाको पालना गर्न आग्रह गरिएको छ।

सम्भावित वर्षाका कारण पहिरो, बाढी तथा लेदो र गेग्रान बहावको जोखिमसमेत रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेले विशेष सावधानी अपनाउन आवश्यक छ। सम्बन्धित निकायले मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर मात्रै यात्रा गर्न र सम्भव भएसम्म जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्।