काठमाडौं । निर्धारित समयभन्दा तीन वर्ष बितिसक्दा पनि निर्माण कार्यले गति लिन नसकेपछि मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नति आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि सडक डिभिजन इलामले ठेक्का तोडेको हो।
२७ करोड २२ लाख रुपैयाँ लागत रहेको उक्त सडक स्तरोन्नति आयोजना २०८० पुस २९ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो। मेची करिडोरअन्तर्गत पर्ने ९.५ किलोमिटर सडकको निर्माण निर्धारित समयभित्र पूरा नभएपछि पटक–पटक म्याद थप गरिएको थियो। तर, निर्माण व्यवसायीले कामलाई गति दिन नसकेको र पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम भौतिक प्रगति भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको सडक डिभिजन इलामले जनाएको छ।
सडक डिभिजनले सार्वजनिक गरेको सूचनाअनुसार उक्त आयोजनाको ठेक्का सम्झौता नम्बर आरडीआईएलएएम-३३७०११७५४–०७७/७८–५७ रहेको छ। सडक निर्माणको जिम्मेवारी काठमाडौंस्थित जे.भी. खड्का कृष्ण–मक्षामले पाएको थियो।
१२ वटा ठेक्का सम्झौता अन्त्य
सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको जनाएको छ। ठेक्का अन्त्य गरिएका आयोजनाका निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको कार्यालयले जनाएको छ। त्यस्तै, छ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको पनि सडक डिभिजनले जानकारी दिएको छ।
नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने
ठेक्का सम्झौता अन्त्य गरिएको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको बाँकी निर्माण कार्यलाई निरन्तरता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाइने भएको छ। त्यसका लागि आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी पुनः निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ।
पूर्वी नेपालको सडक सञ्जालका लागि महत्त्वपूर्ण मानिने मेची करिडोरअन्तर्गतको यो सडक समयमै निर्माण सम्पन्न हुन नसक्दा स्थानीय आवागमन र आयोजना कार्यान्वयनमा ढिलाइ भएको छ। अब नयाँ ठेक्का प्रक्रियामार्फत बाँकी काम अघि बढाउने सरकारी तयारी छ।








