काठमाडौं । विवादास्पद व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल थप १२ दिन थुनामै रहने भएका छन् । विशेष अदालतले व्यवसायी भट्ट र अग्रवाललाई १२ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिन म्याद थप गरेको छ ।
सम्पत्ति शुद्धीकरण कसूरअन्तर्गत अनुसन्धानका लागि दुवैजना प्रहरी हिरासतमा छन् । ‘यस अदालतमा उपस्थित गराइएका अभियुक्तहरु दीपक भट्टको हकमा पाँचौँ र सुलभ अग्रवालको हकमा छैठौँ पटक म्याद थप हुने गरी मुद्दाको अनुसन्धान तहकिकात गर्न उक्त ऐनको दफा १७ ९४० बमोमजिम २३ गतेदेखि लागू हुने गरी १२ दिनको म्याद थप गरिएको छ,’ आदेशमा भनिएको छ।
सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते र चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको थियो।






