काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले केही शेयर लगानीकर्ताहरुलाई पक्राउ गरी सम्पती शुद्धीकरण मुद्धामा अनुसन्धान शुरु गरेसँगै शेयर बजार त्रसित भएको छ । नेपाली बीमा क्षेत्रमा ठुला लगानीकर्ता मानिएका मध्येका एक दीपक भट्ट, सुलभ अग्रवाल लगायतका व्यक्तिहरु पक्राउ परी हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । यसैको प्रभाव यो साता शेयर बजारमा देखिएको छ ।
नियमित कारोबारका लागि सातामा चार दिन मात्र खुल्ला रहेको नेप्से यो साता दुई कार्य दिन उकालो लागेपनि दुई कार्य दिन ओरालो लागेको थियो । जसले गर्दा शेयर बजार परिसुचक नेप्से सातामा २८ सय ३८ दशमलव ४० बिन्दुमा सिमित हुन पुगेको छ भने क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७६ दशमलव ८७ बिन्दुमा सिमित हुन पुगेको छ ।
यो साता धितोपत्र बजारमा तीन सय ४४ वटा कम्पनीहरुको ४ लाख ३२ हजार ७ सय १९ पटक शेयर कारोबार भएको छ । जसबाट ७ करोड ५४ लाख नौं हजार ९ सय २६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३५ अर्ब ९७ करोड ६१ लाख ३६ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा २१ अर्ब रुपैैंयाँले कम हो । गत साता तीन सय ४६ वटा कम्पनीहरुको ६ लाख ५१ हजार २ सय २२ पटकको कारोबारमा १४ करोड १६ लाख ४ हजार ८ सय ३८ कित्ता शेयर किनबेच भएका थिए । जसबाट उक्त साता कुल कारोबार रकम ५७ अर्ब २७ करोड ७९ लाख ६९ हजार २ चार रुपैयाँ पुगेको थियो । नियमित कारोबारका लागि सातामा चार दिन मात्र खुलेको नेप्सेको नियमित कारोबार कक्ष पहिलो र चौंथो दिन खुम्चिएको थियो भने तेस्रो र पाँचौं दिन उकालो लागेको थियो । दोस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।
नेप्सेको दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन सोमबार नेप्से परिसुचक चार दशमलव १८ अंकले ओरालो लागेर २ हजार ८ सय ३३ दशमलव ६० बिन्दुमा खुम्चिदा सेन्सिटिभ इन्डेक्स १ दशमलव ४९ अंकले ओरालो लागेर ४ सय ७६ दशमलव ६५ बिन्दुमा खुम्चिएको थियो । दोस्रो दिन सार्वजनिक बिदा परेकाकारण बन्द रहेको नेप्से तेस्रो दिन बुधबार ३३ दशमलव २७ अंकले उकालो लागेर २ हजार ८ सय ६६ दशमलव ८७ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले उकालो लागेर ४ सय ८१ दशमलव ८७ बिन्दुमा चढेको थियो । चौथो दिन बिहिबार नेप्से परिसुचक ३३ दशमलव ८३ अंकले ओरालो लागेर २ हजार ८ सय ३३ दशमलव शुन्य तीन बिन्दुमा खुम्चिदा सेन्सिटिभ इन्डेक्स पनि ४ दशमलव ४१ अंकले ओरालो लागेर ४ सय ७७ दशमलव ४६ बिन्दुमा खुम्चिएको थियो । पाँचौं दिन नेप्से परिसुचक ५ दशमलव ३६ अंकले उकालो लागेर २ हजार आठ सय ३८ दशमलव ४० बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५८ अंकले ओरालो लागेर ४ सय ७६ दशमलव ८७ बिन्दुमा सिमित हुन पुगेको थियो ।
यो साता नेशनल हाईड्रो पावर लिमिटेड, हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड आदिको बढी रकम कारोबार भएपनि नेशनल हाईड्रोवार कम्पनी लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदिको बढी संख्यामा शेयर किनबेच भएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।







