काठमाडौं । जगदम्बा स्टिल्सका सञ्चालकहरूले विभिन्न बैंकबाट लिएको कर्जा रकम दुरुपयोग गरी हिमालयन रि–इन्स्योरेन्सको सेयर खरिद गरेको आरोपमा मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार उच्च अदालत पाटनको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो।
सीआईबीको अनुसन्धानअनुसार जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक तथा एभरेष्ट बैंकबाट लिएको कर्जा रकम विवादास्पद व्यवसायी दीपक भट्टको खातामा स्थानान्तरण गरेको पाइएको छ। सोही रकममार्फत भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स कम्पनीका नाममा हिमालयन रि–इन्स्योरेन्समा करिब ४५ करोड रुपैयाँ लगानी गरिएको आरोप लगाइएको छ।
अनुसन्धानमा औद्योगिक प्रयोजन तथा जग्गा खरिदका लागि स्वीकृत कर्जा वास्तविक उद्देश्यविपरीत प्रयोग गरिएको उल्लेख छ। जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट १३ करोड ४८ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकबाट ८ करोड रुपैयाँ तथा कुमारी बैंकबाट लिएको कर्जाको ठूलो हिस्सा व्यक्तिगत खातामा पठाइएको सीआईबीले जनाएको छ।
विशेषगरी कुमारी बैंकबाट कर्जा लिएकै दिन थप एक करोड रुपैयाँ जोडेर कुल १५ करोड रुपैयाँ दीपक भट्टको व्यक्तिगत खातामा स्थानान्तरण गरिएको अनुसन्धानबाट खुलेको छ। उक्त कारोबारलाई वैध देखाउन ललितपुरमा जग्गा खरिदका लागि ‘बैना’ गरिएको कागजात बैंकमा पेश गरिएको भए पनि वास्तविक रूपमा हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिदमा रकम प्रयोग भएको निष्कर्ष प्रहरीको छ।
जाहेरी अनुसार रकम स्थानान्तरण भएको अवधिमा जगदम्बा स्टिल्सको व्यवसायिक आम्दानी करिब एक करोड रुपैयाँ मात्रै रहेको देखिन्छ। तर त्यस अवधिमा करोडौं रुपैयाँ व्यक्तिगत खातामा सारिएको भन्दै अनुसन्धान निकायले गम्भीर वित्तीय अनियमितताको आशंका गरेको छ।
सीआईबीले एभरेष्ट बैंक र कृषि विकास बैंकबाट लिइएको चालु पूँजी कर्जा पनि निर्धारित उद्देश्यभन्दा फरक रूपमा प्रयोग गरिएको दाबी गरेको छ। मुद्दामा कर्जा दुरुपयोग, वित्तीय अनुशासन उल्लंघन तथा बैंकिङ कसुरसम्बन्धी विषयमा थप कानुनी परीक्षण हुने जनाइएको छ।








