काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्टको बयान विशेष अदालतमा सम्पन्न भएको छ भने सह–प्रतिवादी व्यवसायी सुलभ अग्रवालको बयान जारी रहेको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा अग्रवालको बयान भइरहेको अदालतले जनाएको छ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार दीपक भट्टको बयान सकिएको छ भने सुलभ अग्रवालको बयान प्रक्रिया जारी छ। अग्रवाल अस्वस्थ भएका कारण यसअघि बयान स्थगित गरिएको थियो।
हाल दुवै प्रतिवादी न्यायिक हिरासतमा रहेका छन्। बयान प्रक्रिया पूरा भएपछि मात्रै थुनछेकसम्बन्धी बहस सुरु हुनेछ। त्यसपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा राख्ने विषयमा निर्णय गर्नेछ।
अभियोगपत्रअनुसार दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरणबापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो असुल गरी सजाय माग गरिएको छ।
त्यस्तै सुलभ अग्रवालसँग २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो दाबी गरिएको छ।
हिमालयन रि–इन्स्योरेन्ससहित विभिन्न कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो।
उक्त प्रकरणमा शंकर ग्रुपका सञ्चालक शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल तथा अमित मोरलाई समेत प्रतिवादी बनाइएको छ। सन्दीप चाचन अग्रवाल दलाल नम्बर ५५ सञ्चालन गर्ने ब्रोकिङ कम्पनीका अध्यक्षका रूपमा परिचित छन्।






