काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको बैठक धुम्बाराहीस्थित एक होटलमा सुरु भएको छ । कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
देउवा समूहको भेलामा पूर्वमहामन्त्री शशांक कोइराला र सुजाता कोइराला पनि सहभागी भएका छन् । महाराजगन्जस्थित स्मार्ट होटलमा सुरु भेलामा शशांक र सुजाता पनि सहभागी भएका हुन् । शशांक यसअघिका देउवा समूहका केही भेलाहरूमा उपस्थित हुने गरे पनि सुजाता भने हुने गरेकी थिइनन् । शेखर काेइराला भने आजकाे बैठकमा सहभागी छैनन् ।
बैठकमा पूर्वउपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् । बैठकले संस्थापन पक्षले निकालेको पार्टीको १५औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने भएको बताइन्छ ।






