काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको तीनदिने राष्ट्रिय भेला आइतबार सकिएको छ । भेला समापन भएसँगै शेरबहादुर देउवा गुटमा विभाजन पनि आएको छ ।

शुक्रबार भेला उद्घाटन हुँदा पूर्णबहादुर खड्का र शेखर कोइरालाले सम्बोधन गरेका थिए । तर शनिबार र आइतबारको बन्दसत्रमा उनीहरू सहभागी भएनन् । पूर्णबहादुर र शेखर नआउने भएपछि समापनमा देउवा आफैं आए । उनले भेलालाई सम्बोधन गर्दै आफू हिन्दु भएको भन्दै सनातन धर्मको पक्षमा उभिने संकेत गरे ।

साढे पाँच महिना लामो स्वास्थ्य उपचार सकेर स्वदेश फर्कंदा संस्थापन र इतर समूहले देउवालाई अभिभावक मानेका थिए । तर जब उनी काठमाडौं आएलगत्तै चुनदेवी सम्पर्क कार्यालय पुगे, त्यहीँदेखि देउवा कांग्रेसको सर्वमान्य नेता बन्नबाट चुकेको विश्लेषण हुन थालेको छ ।

ADVERTISEMENT

भेलाको उद्घाटन समारोहमा मन्तव्य दिँदा उनले आफूलाई पार्टी सभापतिका रूपमा स्वीकार गरेनन् । जबकि हलमा उनलाई सभापतिको दर्जा दिएर चर्को भाषण गरिएको थियो । भेलामा सहभागी भइरहँदा दिएको अभिव्यक्तिले देउवा अभिभावकीय भूमिकामा रहन सकेनन् ।

ADVERTISEMENT

उनी फर्किएपछि इतर वा संस्थापन कुनै समूहतिर नखुली संवादको तयारीमा जुट्लान् कि भन्ने थियो । त्यस्तो गर्दा उनी दुवै समूहको अभिभावक हुने थिए । भेलाको उद्घाटनमै गए पनि संस्थापन समूहका नेताहरूलाई बोलाएर संवाद गर्ने समय पनि देउवालाई थियो, तर उनले सो काम गरेनन् । सम्मेलनमा परिणत भएको इतर समूहका गुट भेलामा रमाए ।

ADVERTISEMENT

अदालतमा आधिकारिकता मुद्दा विचाराधीन रहेकाले सोअघि केही नबोल्ने उनको संकेत देखिन्छ । इतर समूहको नेताको रूपमा रमाएर उतै भुल्दा गुटको नेताभन्दा माथि आफूलाई देउवाले राखेनन् । दुईजना न्यायाधीशको इजलासबाट पार्टीको आधिकारिकता पाएको विशेष महाधिवेशनले अब पूर्ण इजलासबाट फैसला पाउनेछ । आधिकारिकताको फैसलामा पुनः दाबी गर्न देउवा आफैँ सर्वोच्च पुगेका छन् ।

चुनदेवीको सम्पर्क कार्यालयबाट उनीनजिकै रहेको निवासमा देउवा पुगे, जहाँ उनी इतर समूहका नेताबाट घेरिएर बसे । पार्टीमा संवादको थालनी गर्नुपर्छ वा अभिभावकीय भूमिकामा दुवै पक्षलाई राखेर संवाद गर्नुपर्छ भन्ने ठानेनन् । इतर समूहका क्याप्टेन आफू नै रहेको र मैदानमा भिड्छु भन्ने कार्यशैलीमा देउवा उभिए ।

राष्ट्रिय भेलाको उद्घाटन समारोहको प्रमुख अतिथि बनेर देउवा सुकेधारा पुगे । उनले कांग्रेस एकताबद्ध हुने बताए । देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने, भावनाको कदर हुने गरी अघि बढ्न आग्रह गरेका थिए । देउवाले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने पनि बताए । ‘बृहत्तर राष्ट्रिय सहमतिको खोजी गर्न पहल गर्नेछु । राष्ट्रिय सहमतिसाथ अघि बढ्न दृढ संकल्पित छु,’ उनले भनेका थिए ।

देउवा सम्मेलनको समापन समारोहमा उपस्थित मात्र भएनन्, पार्टी एकताबद्ध गराउने विषयमा कुनै शब्द खर्चिएनन् । आफ्नो पुरानै भनाइ ‘अदालतलाई मान्छु’ दोहोर्‍याए ।
देउवाले सबैलाई समेटेर विशेष महाधिवेशन गरौँ भन्दा जर्बजस्ती विशेष महाधिवेशन गरेर पार्टीका धेरै व्यक्तिहरूलाई अन्यायपूर्ण तरिकाले बाहिर राखेको बताए । ‘त्यो बेला मैले भनेको थिएँ– सबैको सहमतिमा गरौँ विशेष महाधिवेशन । तर, जर्बजस्ती विशेष महाधिवेशन गरेर धेरै साथीहरूलाई अन्यायपूर्ण तरिकाले बाहिर राखियो,’ देउवाले भने । उनले विशेष महाधिवेशनको विरुद्धमा अदालतमा फेरि गएकाले अदालतको निर्णय नआउञ्जेल केही नबोल्ने बताए ।

विशेष महाधिवेशन नगर भनेको विषयलाई उनले आफ्नो बोली काटेको तुषको रूपमा लिइरहेका छन् । आज त्यही कार्डलाई उनले राजनीति गर्ने आधार बनाएका छन् । सबैले मानेको अभिभावकीय भूमिकामा भन्दा गुटको नेताको रूपमा आफूलाई सीमित राखेर देउवा पार्टी एकता राजनीतिक रूपमा गर्न अघि बढेनन् ।

पार्टी विवादको विषयमा विवेचना गर्न डाकिएको सम्मेलनमा जबर्जस्ती हिन्दु धर्मको विषय घुसाए । देउवा स्वयंले आफू हिन्दु भएको पटकपटक बताए । सनातन धर्मलाई प्राथमिकता दिनुपर्ने बताए । सँगै राजनीतिक निर्णयभन्दा ज्यादा महत्त्व दिएर धर्मनिरपेक्षताबाट धर्मसापेक्ष राज्यको रूपमा अघि बढ्ने निर्णय भेला र सम्मेलनले गर्‍यो ।

तर भेला सकिँदा नसकिँदै देउवा समूहमा तीव्र असन्तुष्टि बढेको छ । भेलाको निर्णयमा हिन्दु धर्म घुसाइएपछि नेता विमलेन्द्र निधि आक्रोशित बने । दीपक कुइँकेलले सम्बोधन गरिरहँदा उनले पोडियममा माइक खोसे । प्रकाशशरण महतले निधिलाई धकेलेपछि विवाद भयो । निधिलाई तीन चारजना मिलेर ड्यासमा लगेर राखे । यसले देउवा समूहमै विभाजन देखिएको छ ।

त्यति मात्र होइन, पूर्णबहादुर खड्का र शेखर कोइराला समापनमा नआउनुले देउवा समूहको साइज अझै घटेको विश्लेषण हुन थालेको छ । खड्का र कोइराला पार्टी विभाजन गर्ने पक्षमा छैनन् । तर कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतका अघि उनीहरू निरीह बनेका छन् । अबदेखि देउवा समूहको गतिविधिमा खड्का र कोइराला नजाने बताइन्छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै विजयकुमार गच्छदारले गगन थापालाई १५औं महाधिवेशनमा फेरि सभापति बन्न शुभकामना दिएपछि गच्छदारले पनि बाटो अलग गर्ने संकेत देखिएको छ ।