काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बोलाउने बैठकमा सहभागी नहुने निर्णय गरेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि कोइराला पक्षले यस्तो निर्णय लिएको हो।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार बोलाएको विघटित केन्द्रीय समिति बैठकमा सहभागी भए पनि नेता कोइराला र उनीनिकट अधिकांश केन्द्रीय सदस्यहरूले निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको बताइएको छ। बैठकअघि कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा आफूनिकट नेताहरूसँग छलफल गर्दै पार्टीलाई आन्दोलनतर्फ नभई निर्वाचनतर्फ लैजानुपर्ने निष्कर्ष निकालेका थिए।

ADVERTISEMENT

सानेपा बैठकमा कोइरालाले निर्वाचन आयोगको निर्णयपछि सडक आन्दोलनमा जान नहुने र कानुनी उपचार अदालतबाट खोज्न सकिने धारणा राखेका थिए। साथै उनले माघ ११ गतेको राष्ट्रिय सभा र फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन सफल पार्न सबै केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।

कोइरालानिकट नेताहरूका अनुसार अबदेखि देउवा समूहले राख्ने यस्ता छलफलमा सहभागी नहुने स्पष्ट निर्णय गरिएको छ। यद्यपि, कोइरालानिकट केही नेताहरू भने सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म संवाद कायम राख्नुपर्ने पक्षमा छन्।

ADVERTISEMENT

यता, निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिलाई मान्यता दिएपछि सभापति गगन थापालाई देशभरबाट बधाई र उम्मेदवारीका आकांक्षीहरूको फोन आउन थालेको छ। कांग्रेसले क्षेत्रीय, जिल्ला र प्रदेशबाट सिफारिस भएका उम्मेदवारमध्येबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छनोट गर्ने जनाएको छ। यसका लागि सभापति थापाको संयोजकत्वमा संसदीय बोर्ड गठन भई छलफल अघि बढिसकेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

यसैबीच, निवर्तमान सभापति देउवा पक्ष भने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने तयारीमा छ। सानेपामा बसेको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ।