काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको देउवा समूहले महाधिवेशन गर्न लागेको भन्दै पठाएको पत्रलाई अभिलेखमा राखेको छ।

देउवा समूहका तर्फबाट शेरबहादुर देउवाले बुधबार वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए। देउवा समूहले बिहीबारदेखि वडा अधिवेशन सुरु गर्ने र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

ADVERTISEMENT

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलका गतिविधिसँग सम्बन्धित कुनै पनि पत्र आएमा आयोगले प्रशासनिक रूपमा त्यसलाई दर्ता गर्ने गर्छ। सोही प्रक्रियाअन्तर्गत देउवा समूहले पठाएको महाधिवेशनसम्बन्धी पत्र पनि अभिलेखमा राखिएको हो।

ADVERTISEMENT

‘निर्वाचन आयोगको काम दलसम्बन्धी विषयहरू हेर्ने हो। त्यसैले कसैले पत्र पठाए भने प्रशासनिक रूपमा दर्ता हुन्छ, त्यसैअन्तर्गत यो पत्र पनि अभिलेखमा राखिएको हो,’ घिमिरेले भने।

उनका अनुसार कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा आयोगले यसअघि गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिइसकेको छ। उक्त विवादसम्बन्धी विषय सर्वोच्च अदालतमा समेत पुगेको अवस्थामा अहिले तत्काल आयोगले देउवा समूहको पत्रमा थप निर्णय गर्नुपर्ने अवस्था नरहेको उनले बताए।

ADVERTISEMENT

‘यो प्रशासनिक प्रक्रिया मात्रै पूरा भएको हो, आयोगले यो पत्रमा थप कुनै निर्णय गरेको होइन,’ घिमिरेले भने। यसअघि विशेष महाधिवेशन गर्ने बेला गगन थापा समूहले आफूले महाधिवेशन गर्न लागेको जानकारीसहित निर्वाचन आयोगमा पत्र दिएको थियो।

निर्वाचन आयोगले यसअघि गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो।