काठमाडौं । अमेरिकाले इरान माथि आर्थिक दबाब झन् कडा बनाउँदै तेल निर्यातमा कडाइ कायम राख्ने स्पष्ट पारेको छ। अमेरिकी कोष सचिव स्कट बेसेन्टले इरानी तेल खरिदसम्बन्धी एकपटकको छुट ननवीकरण गरिने बताएका छन्।
समाचार संस्था मार्फत दिएको अभिव्यक्तिमा उनले इरानमाथि नाकाबन्दी कायम रहने र इरानबाट तेल बाहिर जान नदिने नीति यथावत रहने उल्लेख गरे। उनका अनुसार यस्तो दबाबका कारण निकट भविष्यमा इरानले तेल उत्पादन घटाउनुपर्ने अवस्था आउन सक्छ।
यससँगै अमेरिकाले रुसी तेल तथा पेट्रोलियम पदार्थको समुद्री खरिदमा दिइएको छुटसमेत ननवीकरण नगर्ने जनाएको छ। यस कदमले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप प्रभाव पार्ने अनुमान गरिएको छ।
यसैबीच, अमेरिकाले चीनस्थित हेन्ग्ली पेट्रोकेमिकल (डालियन) रिफाइनरी कं, लिमिटेड माथि पनि प्रतिबन्ध लगाएको छ। उक्त रिफाइनरीले इरानबाट अर्बौं मूल्य बराबरको कच्चा तेल खरिद गर्दै आएको भन्दै अमेरिकी कोष विभागले कारबाही गरेको हो। अमेरिकाले चीनका स्वतन्त्र रिफाइनरीहरूले इरानको तेल अर्थतन्त्र धान्न महत्वपूर्ण भूमिका खेलेको आरोप लगाएको छ।
यी घटनाक्रमले पहिले नै संवेदनशील अवस्थामा रहेको युद्धविरामलाई थप कमजोर बनाएको छ। डोनाल्ड ट्रम्पको चेतावनीपछि अप्रिल ७ मा घोषणा गरिएको युद्धविरामबीच पनि तनाव कायमै रहेको छ। उनले इरानसँग सम्झौता नभए गम्भीर परिणाम आउने चेतावनी दिएका थिए।
यद्यपि, युद्धविराम सकिनै लाग्दा ट्रम्पले एकतर्फी रूपमा त्यसलाई पुनः विस्तार गरेका छन्। फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्व अपेक्षाअनुसार छोटो अवधिमा समाप्त हुन सकेको छैन।
अमेरिकी रक्षा सचिव पिट हेग्सेथ ले भने अघिल्ला लामो युद्धहरूको तुलनामा छोटो समयमै महत्वपूर्ण सैन्य उपलब्धि हासिल गरिएको दाबी गरेका छन्।
अमेरिका–इरानबीच बढ्दो तनावले क्षेत्रीय स्थिरता र विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।