काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारततर्फ २८३ मेगावाट विद्युत निर्यात गर्न अनुमति नवीकरण गरेको छ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनामार्फत निर्यात हुने विद्युतको स्वीकृति एक वर्षका लागि नवीकरण गरेको हो।

ADVERTISEMENT

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिँदै भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टरसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा मन्त्री घिसिङले नेपालमा हाल विद्युत उत्पादन उच्च अवस्थामा रहेको बताउँदै, निर्यात अनुमति नवीकरण प्रक्रियालाई छिटो र सहज बनाइदिन आग्रह गरेका थिए।

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपतपछि बाँकी रहेको अतिरिक्त विद्युत भारतको ऊर्जा एक्सचेन्जमार्फत प्रतिस्पर्धात्मक मूल्यमा बिक्री गर्दै आएको छ। यसबाहेक प्राधिकरणले भारतका हरियाणा र बिहार राज्यलाई द्विपक्षीय सम्झौताअनुसार पनि विद्युत बिक्री गर्दै आएको छ। भारतको प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेशमा समेत नेपालबाट विद्युत पुगेको छ।

ADVERTISEMENT

यसपटक भारतीय ऊर्जा एक्सचेन्जमा प्रतिस्पर्धात्मक मूल्यमा विद्युत बिक्री गर्न स्वीकृति पाएका चार आयोजनाको अनुमति नविकरण गरिएको हो। यी आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत बिक्री अनुमति सकिएपछि, अब करिब एक वर्षका लागि पुनः नविकरण भएको छ, जसको प्रभाव गत मङ्गलबारदेखि लागू भएको छ।

त्यस्तै, हरियाणा राज्यसँगको द्विपक्षीय सम्झौताअनुसार करिब १८० मेगावाट विद्युत बिक्रीको अनुमति बिहीबार सकिँदै थियो। प्राधिकरणले हरेक वर्ष जुनदेखि अक्टोबर महिनासम्म हरियाणालाई विद्युत बिक्री गर्दै आएको छ।