काठमाडौं । नेपालको अटोमोबाइल बजारमा एक समय ह्याचब्याक कारहरू सर्वाधिक रुचाइने सेग्मेन्टमध्ये पर्थे । तर पछिल्ला केही वर्षमा एसयूभीको आकर्षणले यो सेग्मेन्ट केही कमजोर बनेको थियो । अहिले भने साना ह्याचब्याक कारको बजारले फेरि गति लिन थालेको छ ।

कम सञ्चालन खर्च, सहर केन्द्रित प्रयोगका लागि उपयुक्त आकार, आधुनिक प्रविधि र तुलनात्मक रूपमा किफायती मूल्यका कारण साना विद्युतीय कारप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । यही कारण नेपाली बजारमा अब साना विद्युतीय कारबीचको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

ADVERTISEMENT

यसअघि हुन्डाई ग्राण्ड आई१० नियोस, सुजुकी स्विफ्ट, सेलेरियो र टाटा टियागो जस्ता पेट्रोल ह्याचब्याकले बजार सम्हाल्दै आएका थिए । तर विद्युतीय सवारीसाधनको आगमनसँगै यो सेग्मेन्टको स्वरूप नै परिवर्तन हुन थालेको छ । ह्याचब्याक कारकाे मूल्य न्यूनतम २७ लाखदेखि बढीमा ४० लाख रुपैयाँसम्ममा पाइने बताइन्छ ।

ADVERTISEMENT

बीवाइडी डल्फिनको आगमनपछि सानो विद्युतीय कार बजारमा नयाँ लहर सुरु भयो । त्यसपछि बीवाइडी एटो वान, टाटा टियागो ईभी र नामी बक्स जस्ता मोडलले ग्राहकको ध्यान आकर्षित गरे । अब यही प्रतिस्पर्धालाई थप चुनौती दिन नयाँ विद्युतीय ह्याचब्याकहरू नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छन् । यसै क्रममा प्रोटोनको ई-मास फाइभ नेपाली बजारमा आउँदैछ । आकार र डिजाइनका हिसाबले यो बीवाइडी एटो वानभन्दा ठूलो मोडल हो । यसको प्रतिस्पर्धा बीवाइडी डल्फिनसँग हुने देखिन्छ ।

त्यस्तै, आगामी नाइमा मोबिलिटी एक्स्पो मा आरफक्स टी-वान र चेरी क्यूक्यू थ्री जस्ता नयाँ विद्युतीय ह्याचब्याक सार्वजनिक हुने अनुमान छ । यी मोडलले बजारमा कस्तो मूल्य निर्धारण गर्छन् भन्ने कुराले नै उनीहरूको प्रतिस्पर्धात्मक क्षमता निर्धारण गर्नेछ ।

ADVERTISEMENT

टाटा टियागो ईभी र नामी बक्सका नयाँ संस्करण पनि नेपाली बजारमा आउने तयारीमा छन् । सम्भावित रूपमा यी मोडलहरू आगामी नाडा अटो शो आसपास बिक्रीका लागि उपलब्ध हुन सक्नेछन्।

अबको मुख्य प्रतिस्पर्धा ६ विद्युतीय कारबीच

बीवाइडी एटो वान
टाटा टियागो ईभी
नामी बक्स
प्रोटोन ई–मास फाइभ
आरफक्स टी-वान
चेरी क्यूक्यू थ्री

पहिलेदेखि नै बजारमा आफ्नो स्थान बनाइसकेका बीवाइडी एटो वान, टाटा टियागो ईभी र नामी बक्सलाई नयाँ आउने प्रोटोन, आरफक्स र चेरीका मोडलले कस्तो चुनौती दिन्छन् भन्ने कुरा आगामी समयमा स्पष्ट हुनेछ।

मूल्य नै बन्नेछ मुख्य प्रतिस्पर्धाको आधार

सानो विद्युतीय कारको बजारमा सबैभन्दा ठूलो प्रतिस्पर्धा मूल्यमा हुने देखिन्छ । नेपाली ग्राहकका लागि विद्युतीय कार खरिद गर्दा मूल्यसँगै ब्याट्री क्षमता, रेन्ज, सर्भिस सुविधा र पुनर्बिक्री मूल्य पनि महत्वपूर्ण विषय बन्ने गरेका छन् । हाल टाटा टियागो ईभी तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध भएकाले ग्राहकको राम्रो रोजाइमा पर्दै आएको छ । भारतमा उत्पादन भएको र स्थापित सर्भिस नेटवर्क भएका कारण यसले बजारमा विश्वास पनि कायम गरेको छ।

बीवाइडी एटो वान भने आफ्नो आकर्षक डिजाइन, ब्राण्डको विश्वास र प्रतिस्पर्धी मूल्यका कारण लोकप्रिय बन्दै गएको छ । त्यस्तै नामी बक्सले फरक डिजाइन, ठूलो क्याबिन स्पेस र आधुनिक प्रविधिका कारण ग्राहकलाई आकर्षित गरिरहेको छ । अब बजारमा आउन लागेका प्रोटोन ई-मास फाइभ, आरफक्स टी-वान र चेरी क्यूक्यू थ्रीले पनि आकर्षक मूल्य, आधुनिक सुविधा र राम्रो रेन्ज दिन सके भने हाल बजारमा रहेका मोडललाई कडा चुनौती दिन सक्नेछन् ।