काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिक दल वा त्यससँग आबद्ध कुनै पनि संगठनसँग सम्बन्ध राख्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने व्यवस्था प्रस्ताव गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको निजामती सेवा विधेयकको मस्यौदामा यस्तो कडा प्रावधान समावेश गरिएको हो। मन्त्रालयले विधेयकमा सुझाव तथा संशोधनका लागि सात दिनको समयसमेत उपलब्ध गराएको छ।

ADVERTISEMENT

मस्यौदाको बुँदा नम्बर ४८ अनुसार कुनै पनि निजामती कर्मचारीले राजनीतिक दल, दलका भ्रातृ संगठन वा जनवर्गीय संगठनको सदस्यता लिएमा, राजनीतिक गतिविधिमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा उनलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने व्यवस्था प्रस्ताव गरिएको छ।

सरकारले निजामती सेवाको निष्पक्षता, तटस्थता र व्यावसायिकता सुनिश्चित गर्न यस्तो प्रावधान आवश्यक भएको जनाएको छ।

ADVERTISEMENT