काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न भए सेवाबाट हटाउन सकिने चेतावनी दिएको छ।मन्त्रालयले मंगलबार सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो।

सूचनामा नेपालको संविधान तथा निजामती सेवा ऐन, २०४९ अनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार कुनै निजामती कर्मचारी राजनीतिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।

सूचनाअनुसार निजामती कर्मचारी कुनै पनि राजनीतिक दल, त्यसका भ्रातृ संगठन वा जनवर्गीय संगठनमा आबद्ध हुन पाउने छैनन्। साथै राजनीतिक गतिविधिमा संलग्न हुने, संगठनको सदस्यता लिने वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीमाथि कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कर्मचारीलाई आफ्नो जिम्मेवारी र आचरणप्रति संवेदनशील रहन आग्रह गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ, निष्पक्ष र उत्तरदायी बनाउन कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरिने संकेत दिएको छ।

सरकारले पछिल्लो समय निजामती प्रशासनलाई थप व्यावसायिक, उत्तरदायी र राजनीतिक प्रभावबाट मुक्त बनाउने नीति अघि सारेको सन्दर्भमा मन्त्रालयको यो सूचना आएको हो।