काठमाडौँः एमाले पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” भन्दै त्यसविरुद्ध कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उक्त निर्णय गर्दै गिरफ्तारीको कडा निन्दा र भर्त्सना गरेको हो। बैठकको अध्यक्षता उपाध्यक्ष तम बहादुर थापा (बादल)ले गरेका थिए।
पार्टीका महासचिव शंकर पोखरेल का अनुसार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई सूर्योदयअघि गरिएको पक्राउ लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको निष्कर्ष निकालिएको छ। बैठकले दुवै नेताको तत्काल रिहाइको मागसमेत गरेको छ।
एमालेले उक्त गिरफ्तारीलाई भदौ २३ र २४ गतेका घटनासम्बन्धी गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनसँग जोडिएको भन्दै सो आयोगप्रति सुरुदेखि नै असहमति रहेको पुनः दोहोर्याएको छ। पार्टीका अनुसार प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानका स्थापित न्यायिक सिद्धान्तविपरीत छ। त्यसैले निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा नयाँ उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको छ।
बैठकले गिरफ्तारीविरुद्ध राजनीतिक तथा कानुनी प्रतिवादलाई व्यवस्थित गर्न विभिन्न नेताहरूलाई जिम्मेवारीसमेत तोकेको छ। राजनीतिक दलहरूसँग समन्वयको जिम्मा उपाध्यक्ष बिष्णु पौडेल लाई दिइएको छ भने संसदीय दलहरूसँग संवाद तथा सहकार्यको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ। कानुनी प्रतिवादको संयोजन गोकर्ण बिष्टले गर्नेछन् भने समग्र जनपरिचालनको जिम्मेवारी केन्द्रीय कार्यालयले लिने जनाइएको छ।

एमालेले देशव्यापी आन्दोलनको घोषणा गर्दै प्रत्येक जिल्लाको सदरमुकाममा प्रदर्शन गर्ने, जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोधपत्र बुझाउने र अन्य राजनीतिक दल, नागरिक समाज तथा आम जनतासँग सहकार्य गर्दै थप कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
उता, प्रहरीद्वारा गरिएको पक्राउ जेन–जी नेतृत्वको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा भएका घटनामा “हेलचेक्र्याइँपूर्वक ज्यान मारेको” अभियोगसँग सम्बन्धित जाँच प्रतिवेदनको सिफारिसका आधारमा भएको हो। सो प्रतिवेदनले ओली र लेखकलाई ३ देखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको उल्लेख गरिएको छ।
एमालेले भने उक्त कारबाहीलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै संविधान, लोकतन्त्र र मानवअधिकारमाथि आघात पुगेको जनाएको छ। पार्टीले यस घटनाविरुद्ध एकताबद्ध रूपमा उभिन आफ्ना कार्यकर्ता तथा समर्थकलाई आह्वान गरेको छ।






