काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
एमाले राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्बोधन गर्दै उनले अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरुरी रहेको बताए ।
‘देशमा गरिएको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरुबीच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्छ,’ उनले भने ।
ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको र त्यस भ्रममा नपर्न नेता कार्यकर्ताहरुलाई आग्रहसमेत गरे । ‘हामी समूहगत र संस्थागत एकता गर्दैनौं, तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं’, उनले भने ।
ओलीले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको बताए । ‘एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखियो,’ उनले भने ।
फागुन २१ गतेको निर्वाचन भदौ २३ र २४ गते गरिएका अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक भएको ओलीले आरोप लगाए । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कस्ले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ? भन्ने विषय उल्लेख नभएकाले ती अपराध घटनालाई ढाकछोप गर्न आयोग बनेको उनले जिकिर गरे ।
ओलीले भदौ २३ र २४ को घटना संविधान र लोकतन्त्रविरुद्धको आक्रमण र षडयन्त्र रहेको भन्दै उनले त्यो उपद्रव युवा विद्रोह, आन्दोलन थियो भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे ।
ओलीले निष्क्रिय रहेका पार्टी कमिटीहरुलाई सक्रिय बनाउन पुनर्गठन गर्न सकिने बताए । पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेकोमा जोड दिँदै उनले शत्रुहरुले आक्रमण गरिरहेको यसबेला पार्टीलाई विजयतर्फ अगाडि बढाउन के गर्नुपर्छ, त्यस दिशामा राय सुझाव दिन आग्रह गरे ।






