काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको स्वास्थ्य परीक्षण प्रक्रिया प्रहरीले अघि बढाएको छ। शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएका उनीहरूलाई हाल जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ।
प्रहरीका अनुसार पक्राउपछिको नियमित कानुनी प्रक्रियाअनुसार उनीहरूको स्वास्थ्य परीक्षण गरिन लागेको हो। परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराई ले स्वास्थ्य परीक्षणलाई अनिवार्य प्रक्रिया भएको बताएका छन्।
स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य देखिएमा दुवैलाई हिरासतमा राख्ने तयारी गरिएको छ। आज सार्वजनिक बिदा परेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउने प्रक्रिया तत्काल सम्भव नहुने हुँदा उनीहरू आजै हिरासतमा रहने सम्भावना रहेको प्रहरीले जनाएको छ।
पक्राउपछि दुवै नेताले कानुनी परामर्शलाई तीव्रता दिएका छन्। उनीहरूमाथि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँका कारण ज्यान गएको आरोपमा अनुसन्धान भइरहेको छ।
उक्त घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेपछि सरकारले सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसैका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।







