काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारबाट देश सञ्चालन हुन नसक्ने टिप्पणी गरेका छन्। लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओलीले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

ओलीले आफूहरू विचलित हुनुपर्ने अवस्था नरहेको भन्दै देश निर्माणमा सबैको भूमिका महत्वपूर्ण रहेको बताए। “यो देश तपाईं–हाम्रो हो, तपाईं–हामीले यो देशको माया गर्नुपर्छ, यो देश बनाउनुपर्छ,” उनले भने।

ADVERTISEMENT

उनले सरकारले प्रतिशोधका आधारमा आफू, रमेश लेखक तथा अन्य नेताहरूलाई पक्राउ गरेको आरोप लगाए। सरकारले झुटा मुद्दा लगाउने प्रयास गरेको र आफूहरूलाई प्रतिबन्ध लगाउने कामसमेत गरेको ओलीको दाबी थियो।

ADVERTISEMENT

सरकारले विभिन्न नियुक्तिमा समेत पूर्वाग्रह राखेको आरोप लगाउँदै ओलीले योग्य व्यक्तिहरूलाई हटाएर आफ्ना निकटस्थलाई नियुक्त गरिएको टिप्पणी गरे।

सम्पत्ति छानबिन आयोगमाथि ओलीको प्रश्न

ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगप्रति पनि चर्को असन्तुष्टि जनाए। आयोगले छनोट गरेर मुद्दा लगाउने उद्देश्य राखेको आरोप लगाउँदै उनले आफूहरूमाथि भने अनावश्यक रूपमा सम्पत्तिको स्रोत खोज्ने प्रयास भइरहेको बताए।

ADVERTISEMENT

उनले न्यायाधीश, सेना तथा सरकार निकटका व्यक्तिहरूलाई कानुनी कारबाहीबाट जोगाउने व्यवस्था गरिएको दाबी गर्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाए।

“हाम्रो चाहिँ यो लगाएको कपडा कुन पैसाले किनेको हो भनेर सोध्ने ? यो स्टकोट कहाँबाट आयो ? कुन टेलरले सिलाएको ?” भन्दै ओलीले व्यंग्यात्मक शैलीमा सरकारको छानबिन प्रक्रियामाथि प्रश्न गरे।

साम्प्रदायिक विद्वेष भड्काएको आरोप

ओलीले सुनसरीलगायतका क्षेत्रमा सरकारले आफैँ साम्प्रदायिक विद्वेष र द्वन्द्व निम्त्याउने काम गरेको आरोप लगाए। विभिन्न समूहलाई भेला गरेर हिंसा भड्काउने र पछि सम्झौता गरेर आन्दोलन साम्य पार्ने काम भएको उनको दाबी थियो।

उनले सरकारको कार्यशैलीले सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताए।

प्रधानमन्त्रीको भारतसम्बन्धी अभिव्यक्तिमा आपत्ति

ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। नेपालको राष्ट्रिय हित र सीमा विषयमा प्रधानमन्त्रीले जिम्मेवार भएर अभिव्यक्ति दिनुपर्ने उनको धारणा थियो।

ओलीले वर्तमान सरकारका गतिविधि र निर्णयले देशलाई सही दिशामा लैजान नसक्ने दाबी गर्दै एमालेले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र मुलुकको हितका पक्षमा आफ्नो भूमिका निरन्तर अघि बढाउने बताए।