काठमाडौं । पछिल्ला तीन दिनयता देशका अधिकांश सहरमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम उल्लेख्य रूपमा बढिरहेको छ।

राजधानी काठमाडौंमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियसको हाराहारीमा रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो। बिहीबार मध्यान्हसम्म भने तापक्रम २५.४ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ। आज राति न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ।

यसैगरी आज मध्यान्हसम्म सबैभन्दा बढी तापक्रम सिराहा र बाँकेमा ३१.१ डिग्री सेल्सियस मापन गरिएको छ। सोही समयमा मनाङस्थित हुम्दे विमानस्थलमा भने अधिकतम तापक्रम ३.२ डिग्री सेल्सियस मात्र रहेको छ।

विराटनगरमा आज तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने नेपालगञ्जमा ३० देखि ३२ डिग्री सेल्सियस आसपास रहने सम्भावना छ।

गण्डकी प्रदेशको पोखरामा आज २६ देखि २८ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रतर्फ जुम्लामा २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ भने जोमसोममा पनि १७ देखि १९ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको विभागले जनाएको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ।“हावाको आर्द्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ। आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना रहेको छ,” उनले बताए।

समग्रमा आगामी तीन दिनसम्म देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने र मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ।