काठमाडौं। देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि केही तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाको प्रभाव कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली भई हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावाको लहर चल्ने तथा वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिन रहने जनाएको छ। अन्य अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

ADVERTISEMENT

मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा गएरातिदेखि वर्षा भइरहेको छ। झापाको अनारमनी बिर्तामा पछिल्लो सात घण्टामा २३७ मिलिमिटर वर्षा मापन भएको छ। उनले पूर्वी तराईबाहेक पश्चिमी तथा दक्षिणी नेपालका धेरै क्षेत्रमा आगामी एक सातासम्म उल्लेखनीय वर्षाको सम्भावना कम रहेको बताएका छन्।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार बंगालको खाडीबाट विकसित बादल पूर्वी नेपाल प्रवेश गरिसकेको छ। यसले पूर्वी क्षेत्रमा वर्षासँगै बाढी र पहिरोको जोखिम बढाएको छ भने पश्चिमी क्षेत्रमा भने घाम लाग्ने सम्भावना रहेको छ।

ADVERTISEMENT

विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम छ। बुधबार सबैभन्दा बढी तापक्रम भैरहवामा ४१.४ डिग्री सेल्सियस र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस मापन गरिएको थियो।