सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरेर राखिएका ६ वटा यात्रुबाहक बसमा आगलागी भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी का प्रमुख प्रहरी निरीक्षक अनिल माबुहाङ का अनुसार मंगलबार राति करिब १० बजे पार्किङ गरेर राखिएका बसमा अचानक आगलागी भएको हो।
आगलागीका कारण को १ ख ६२७४ नम्बरको ‘कृष्ण बस’ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। त्यस्तै प्र १–०१–००१ ख ४०३७ नम्बरको कन्काई यातायातको बसको अगाडिको भाग जलेर आंशिक क्षति पुगेको छ।
यसैगरी बा ४ ख ५७५९ नम्बरको ‘पाथिभरा दर्शन’ बसको अगाडिको भाग जलेर आंशिक क्षति भएको छ भने को १ ख ३८४७ नम्बरको ‘सुपर मादेन’ बसको अगाडिको भागमा पनि आगलागीका कारण क्षति पुगेको प्रहरी निरीक्षक माबुहाङले जानकारी दिए।
घटनामा बा ५ ख ५८१४ नम्बरको बसको दाहिने साइडको पछाडिको भाग जलेर आंशिक क्षति पुगेको छ भने बा ५ ख ५८०९ नम्बरको बसको दाहिने साइडमा समेत आगलागी भई आंशिक क्षति भएको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
यातायात व्यवसायी संघ कोशी का अध्यक्ष सरोज श्रेष्ठ का अनुसार पार्किङ गरेर राखिएको बसमा विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरान का प्रहरी निरीक्षक जीवन कुँवर ले जानकारी दिएका छन्।







