काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशभर आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४०४ पिन्ट रगत संकलन गरेको छ।
बैंकले केन्द्रीय कार्यालयसहित विभिन्न प्रदेशका क्षेत्रीय कार्यालय तथा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय समाजसेवी तथा रक्तदाताहरूको सहभागिता रहेको थियो।
यस अवसरमा बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगतसहित ६१औँ पटक रक्तदान गरेका छन्।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए।
रक्तदान कार्यक्रम विराटनगर, बर्दिबास, कावासोती, पोखरा, बुटवल, घोराही र महेन्द्रनगरलगायतका स्थानमा सञ्चालन गरिएको थियो।
वार्षिकोत्सवकै अवसरमा बैंकले अन्तरबैंक तथा वित्तीय संस्था फुटसल प्रतियोगिताको छैटौँ संस्करणसमेत आयोजना गरेको थियो। प्रतियोगिताको पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएका थिए।










